काठमाडौँ । लघुवित्त तथा सहकारी पीडितको आन्दोलनमा सहभागी हुनसक्ने भन्दै प्रहरीले दुर्गा प्रसाईंको भक्तपुर निकोसेरास्थित निवासमा टोली पठाएको छ।
मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौँ आएका पीडितहरूले आफ्ना माग सम्बोधनका लागि आन्दोलन जारी राखेका छन्। उनीहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोगको गेट अगाडिको सडकमा सुतेर धर्ना दिएका थिए।
सरकार वार्ताका लागि नआएसम्म आन्दोलनबाट नहट्ने अडान लिएका पीडितहरूलाई प्रसाईंले साथ दिने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई घरमै रोक्न खोजेको प्रहरी स्रोतले जनाएको छ।
प्रसाईं आन्दोलनमा सहभागी हुँदा अप्रिय अवस्था सिर्जना हुनसक्ने आकलनपछि प्रहरीले सावधानीस्वरूप उनको निवासमा टोली पठाएको स्रोतको भनाइ छ।
२०८३ श्रावण ३०, शनिबार १६:३६ प्रकाशित


