प्रजातन्त्रविरुद्ध जान नमानेपछि ज्ञानेन्द्रले जेल हाले : देउवा


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षबाट पछि नहटेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफूलाई जेल हालेको बताएका छन्।

काठमाडौंमा आफ्नै समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले तत्कालीन अवस्थामा आफूलाई सरकारको हुकुम मान्न दबाब दिइए पनि प्रजातन्त्रविरुद्ध जान अस्वीकार गरेको बताए।

‘मैले भनेकै हो, सरकारको हुकुम मान्न तयार छु। म प्रजातन्त्रको खिलाफमा जान सक्दिनँ भनेकै हो। त्यसपछि मलाई जेल हाल्यो,’ देउवाले भने।

उनले त्यसबेला आफूलाई न्यायालयले न्याय दिएको स्मरण गर्दै अहिले पनि अदालतप्रति आफ्नो अटुट विश्वास रहेको बताए। ‘अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ,’ उनले भने।

देउवाले नेपालमा गणतन्त्र स्थापना हुनुमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको समेत ठूलो भूमिका रहेको दाबी गरे।

२०८३ श्रावण २९, शुक्रबार २०:१४ प्रकाशित
ट्रेन्डिङ समाचार