काठमाडौं । नेपाल आयल निगमले ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै भोलि शनिबारदेखि काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म विभिन्न ब्रान्डका ग्यास बिक्री गर्न लागेको हो। ग्यास खरिद गर्न जाने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्नेछ।
ग्यास निगमको टेकु परिसर, चावहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र बसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री गरिनेछ।
निगमका अनुसार सम्बन्धित उद्योगहरूले आफ्ना डिलरमार्फत नियमित रूपमा ग्यास बिक्री गरिरहेका छन्। तर ग्यास सकिएर अत्यावश्यक अवस्थामा पुगेका उपभोक्तालाई तत्काल राहत दिन विशेष बिक्री व्यवस्था गरिएको हो।
निगमले तोकिएको स्थान र समयमा परिचयपत्रसहित उपस्थित भएर अति आवश्यक भएका उपभोक्तालाई मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ।


