श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार उपस्थित गराउन आदेश


काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद विद्युतीय सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठकी श्रीमती सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरको आरोपमा प्रहरीले श्रेष्ठलाई बुधबार राति पक्राउ गरेको थियो। प्रहरीले उनको निवास र जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरी कम्प्युटर, ल्यापटप र मोबाइललगायत सामग्री जफत गरेको थियो।

अनुसन्धानका लागि अदालतले यसअघि श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। श्रेष्ठको पक्राउको विरोध गर्दै विभिन्न पत्रकार संगठन तथा राजनीतिक दलहरूले निःशर्त रिहाइको माग गर्दै आएका छन्।

२०८३ श्रावण २९, शुक्रबार ११:५५ प्रकाशित
ट्रेन्डिङ समाचार