काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ।
झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न सांस्कृतिक झाँकीसहितको कार्यक्रम आयोजना गर्न लागिएको हो।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानमार्फत काठमाडौं आइपुग्नेछन्। जेनजी आन्दोलनका क्रममा घाइते भएपछि उपचारका लागि सिंगापुर र हङकङ पुगेका देउवा स्वदेश फर्किएपछि शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन्।
तीन दिनसम्म चल्ने राष्ट्रिय भेलामा करिब ५ हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ। भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।


