काठमाडौँ । नेकपा एमालेका पूर्व प्रमुख सचेतक महेश बर्तौलाले संसद्को बैठकमा गणपूरक संख्या नपुगेर बैठक नै रोक्नुपर्ने अवस्था आउनु संसदीय लज्जाको विषय भएको बताएका छन्।
नवनिर्वाचित संसद्को कार्यकाल सुरु भएको चार महिनामै गणपूरक संख्या नपुग्नुले सांसदहरूको संसदीय कामप्रतिको उदासीनता र गैरजिम्मेवारीपन उजागर गरेको उनको भनाइ छ।
बर्तौलाका अनुसार प्रतिनिधिसभामा कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा एक चौथाइ अर्थात् ६९ सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका १८१ सांसद हुँदाहुँदै आफ्नै सरकारले ल्याएको खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत गणपूरक संख्या नपुग्दा निर्णयार्थ पेस हुन नसकेको उनले बताए।
सांसदहरू संसद् बैठकमा उपस्थित नभई भाषण, सामाजिक सञ्जाल र मिडियामुखी गतिविधिमा मात्रै केन्द्रित हुनु चिन्ताजनक रहेको बर्तौलाको टिप्पणी छ। कमजोर र निष्क्रिय सांसदबाट प्रभावकारी संसद् सञ्चालन हुन नसक्ने तथा सरकारलाई प्रभावकारी रूपमा जवाफदेही बनाउन पनि कठिन हुने उनले बताएका छन्।
उनले नयाँ संसद्को प्रारम्भिक कार्यकालमै देखिएको सांसदहरूको व्यवहारले ‘Right Person in the Right Place’ को सिद्धान्तमाथि समेत गम्भीर प्रश्न उठाएको बताए।

