सागर पण्डित, काठमाडौं ।
देश अहिले फेसबुक स्टाटसबाट चलिरहेको छ ।
समस्या आउँछ—फेसबुकमा सान्त्वना ।
जनता आत्तिन्छन्—फेसबुकमा ‘नआत्तिनुहोस्’ ।
महँगी बढ्छ—फेसबुकमा आश्वासन ।
ग्यास पाइँदैन—फेसबुकमा भरोसा ।
तर, भान्सामा ग्यास छैन । चुलोमा आगो छैन । बजारमा मूल्यको ब्रेक छैन । जनताको खल्तीमा पैसा छैन । अनि प्रधानमन्त्रीज्यू भन्नुहुन्छ—‘नआत्तिनुहोस् !’
प्रधानमन्त्रीज्यू,
नआत्तिने पनि त एउटा सूत्र हुन्छ नि !
त्यो सूत्र फेसबुक स्टाटस होइन,
जनताको भान्सामा ग्यास, बजारमा नियन्त्रण, रोजगारीमा अवसर र दैनिक जीवनमा राहत हो।
एकातिर हप्तौँसम्म एलपी ग्यास नपाएर सर्वसाधारण चुलो बाल्न नसक्ने अवस्थामा छन्। गरिब परिवारका भान्सामा धुवाँ होइन, निराशा उडिरहेको छ ।
अर्कोतर्फ पछिल्लो एक महिनामै—
– चामलमा प्रतिबोरा ३ देखि ४ सय रुपैयाँसम्म वृद्धि
– चिनीमा प्रतिकिलो २० देखि २५ रुपैयाँ वृद्धि
– अण्डामा क्यारेटको १ सयदेखि १ सय ५० रुपैयाँसम्म वृद्धि
– मासुमा प्रतिकिलो ४ सय रुपैयाँसम्म वृद्धि
– तेलमा प्रतिलिटर ८० रुपैयाँसम्म वृद्धि
– दालमा प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म वृद्धि
– तरकारीको मूल्य आकाशिँदो
– अन्य उपभोग्य वस्तुको मूल्य पनि उकालो लाग्दो
जनताको आम्दानी उही, खर्चचाहिँ दिनदिनै बढ्दो !
यता रोजगारी सिर्जना करिब शून्य ।
उता विदेश जाने युवाको लर्को उस्तै ।
किसान मलका लागि भौँतारिनुपर्ने ।
शिक्षक आन्दोलनको तयारीमा ।
यातायातको सर्भर डाउन ।
राष्ट्रिय परिचयपत्रको सर्भर डाउन ।
सरकारी सेवा लिन जनता कैयौँ दिन लाइनमा ।
समस्या चारैतिर छ । समाधान खोज्ने जिम्मेवारी सरकारको हो ।
तर जनताले पाउने जवाफ—
‘नआत्तिनुहोस् !’
प्रधानमन्त्रीज्यू,
जनता आत्तिएका होइनन्, आजित भएका हुन्।
भान्साको चुलो निभेपछि ‘नआत्तिनुहोस्’ भन्न सजिलो हुन्छ ।
महँगीले ढाड सेक्दा ‘धैर्य गर्नुस्’ भन्न सजिलो हुन्छ ।
सिंहदरबारको घुम्ने मेचमा बसेर जनताको पीडा कल्पना गर्न सजिलो हुन्छ ।
तर खाली पेट र खाली ग्यास सिलिन्डर लिएर डिलरको लाइनमा उभिने नागरिकलाई सोध्नुस्—नआत्तिनुहोस् भन्न कति सजिलो छ ?
बजारमा एक हजार रुपैयाँ बोकेर छिर्दा हिजोभन्दा आज कम सामान बोकेर घर फर्किनुपरेको परिवारलाई सोध्नुस्—
‘नआत्तिनुहोस्’ भन्ने शब्द कति मीठो लाग्छ ?
प्रधानमन्त्रीज्यू,
हामी राम्रो कामका लागि तपाईंसँगै लड्न तयार छौँ ।
देश बनाउनुपर्छ भने साथ दिन तयार छौँ ।
सुशासनका लागि लड्नुपर्छ भने काँधमा काँध मिलाउन तयार छौँ ।
तर जनतालाई सान्त्वना मात्र होइन, समाधान चाहिएको छ।
फेसबुकमा स्टाटस लेखेर सरकार चल्दैन ।
फेसबुकमा आश्वासन दिएर भान्सामा ग्यास बल्दैन ।
फेसबुकमा ‘नआत्तिनुहोस्’ लेख्दैमा बजारको मूल्य घट्दैन ।
जनताको प्रश्न फेसबुकमा होइन, समस्या समाधान गरेर दिनुपर्छ ।
जनताको पीडाको जवाफ स्टाटसमा होइन, चहराई रहेको घाउमा मलहम लगाएर दिनुपर्छ ।
त्यसैले प्रधानमन्त्रीज्यू,
‘नआत्तिनुहोस्’ भन्नुअघि एकपटक जनताको भान्सामा हेर्नुस्।
खाली ग्यास सिलिन्डर हेर्नुस्।
बजारको मूल्य हेर्नुस्।
बेरोजगार युवाको अनुहार हेर्नुस्।
मल खोज्दै भौँतारिएको किसान हेर्नुस्।
लाइनमा बसेको नागरिक हेर्नुस्।
अनि आफैँलाई एउटा प्रश्न सोध्नुस्—
‘सरकार ! जनता कसरी बाँच्ने ?’
यसको जवाफ फेसबुकबाट होइन, कामबाट दिनुस्।
किनकि जनता अब
सान्त्वना सुन्ने अवस्थामा छैनन्—राहत खोजिरहेका छन्।
आश्वासन पत्याउने अवस्थामा छैनन्—परिणाम खोजिरहेका छन्।
‘नआत्तिनुहोस्’ सुन्ने अवस्थामा छैनन्—‘अब समस्या समाधान भयो’ भन्ने दिन पर्खिरहेका छन्।
प्रधानमन्त्रीज्यू,
जनता मुर्छित हुनुअघि तपाई र तपाईको सरकारलाई ब्युँझाउनुहोस् ।
शुक्रबार मध्यरातमा आएको प्रधानमन्त्री बालेन्द्र शाहको स्टाटस यस्तो छ


