काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो। यसका लागि शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन्।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। यस उपकरणमा लगानी गरिएको रकम अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात र तरलता अनुपातमा गणना गर्न सकिनेछ।
२०८३ श्रावण २२, शुक्रबार २०:१२ प्रकाशित

