काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (७२ घण्टा) देशका विभिन्न क्षेत्रमा वर्षा उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले सोमबार बिहान चेतावनीयुक्त जोखिम नक्सा सार्वजनिक गर्दै सुन्तला रङ (ओरेण्ज अलर्ट ) ले चिनाइएका स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको हो। विभागका अनुसार ती क्षेत्रमा बाढी, पहिरो, डुबान, सडक अवरोध तथा नदी–खोलामा पानीको सतह आकस्मिक रूपमा बढ्न सक्ने भएकाले स्थानीय बासिन्दा, यात्रु तथा सम्बन्धित निकायले विशेष सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ।
मौसमविद्का अनुसार आजदेखि लगातार तीन दिन विशेषगरी बागमती, कोशी, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका विभिन्न भूभागमा विभिन्न समयमा अत्यधिक वर्षा हुने सम्भावना छ। केही स्थानमा छोटो अवधिमै धेरै वर्षा हुन सक्ने भएकाले जोखिम थप बढ्ने अनुमान गरिएको छ।
विभागले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई पहिरोको जोखिम र तराईका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बाढी तथा डुबानको सम्भावनाप्रति विशेष सचेत रहन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक जोखिमयुक्त स्थानमा आवतजावत नगर्न, नदी–खोलाको किनार तथा पहिरो सम्भावित क्षेत्रमा सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।
जोखिमको विस्तृत अवस्था र प्रभावित क्षेत्र बारे विभागले सार्वजनिक गरेको चेतावनीयुक्त नक्सा


