काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आज बिहान ५:३० बजेदेखि हटाइएको हो। प्रशासनले बिहान ५:३० बजेदेखि साँझ ५ बजेसम्मका लागि कर्फ्यु हटाएको जनाएको छ।
निषेधाज्ञा लागू भएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक तथा धर्ना आयोजना गर्न प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार जिल्लाको शान्ति–सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको हो। प्रशासनले निषेधाज्ञा अवधिभर जारी आदेशको पूर्ण पालना गर्न सबै नागरिकसँग अनुरोध गरेको छ।
निषेधाज्ञा लागू हुने क्षेत्र
• इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
• रामधुनी नगरपालिका वडा नं. १ र २ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
• इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र
• दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र
• भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र


