तराई अशान्तिको असर देशभर : लोकसेवा आयोगको लिखित परीक्षा एक साताका लागि सर्‍यो


काठमाडौ ।तराईका विभिन्न जिल्लामा जारी कर्फ्यु, हिंसा र आन्दोलनको प्रत्यक्ष असर लोकसेवा  आयोगको  लिखित परीक्षामा परेको छ । आयोगले देशभर सञ्चालन हुने सबै लिखित परीक्षा  एक साताका लागि सार्ने निर्णय गरेको छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि सञ्चालन हुने  रा.प. अनं द्धितिय श्रेणि(प्राविधिक), खरिदार वा सो सरहका पद तथा अन्य  नेपाली सेनातर्फका विभिन्न पद, नेपाल बैंक लिमिटेड, नागरिक उड्ययन प्राधिकरण तर्फका विभिन्न पदका सबै   लिखित परीक्षा को पूर्वनिर्धारित तालिका संशोधन गरिएको जनाएको छ। संशोधित तालिका अनुसार सबै कार्यक्रम अब एक सातापछि साउन २३ गतेदेखि सञ्चालन हुनेछन्।

तराईका केहि जिल्लाहरुमा उत्पन्न परिस्थितिका कारण परीक्षार्थीहरुको आवतजावतमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै आयोगले  यस्तो निर्णय गरेको हो।

लोकसेवा आयोगका प्रवक्ता पुरुषोत्तम शर्मा ले प्रशासनपोस्टसँग कुरा गर्दै परीक्षा रद्द नभई कार्यतालिका मात्रै संशोधन गरिएको स्पष्ट पारे।

“परीक्षा स्थगित गरेको होइन, कार्यतालिका संशोधन गरेर एक सातापछि सारिएको हो,” प्रवक्ता शर्माले प्रशासनपोस्टसँग भने।

आयोगका अनुसार देशका विभिन्न जिल्लाबाट परीक्षार्थीहरूले वर्तमान परिस्थितिमा परीक्षा केन्द्रसम्म पुग्न कठिन हुने भन्दै परीक्षा सार्न बारम्बार अनुरोध गरेका थिए। विशेषगरी तराईका जिल्लामा जारी कर्फ्यु, बन्द र यातायात अवरोधका कारण हजारौं परीक्षार्थी परीक्षा दिनबाट वञ्चित हुन सक्ने अवस्था देखिएपछि आयोगले सबै परीक्षार्थीलाई समान अवसर सुनिश्चित गर्ने उद्देश्यले  खरिदार वा सो सरहको लिखित परीक्षाको कार्यतालिका संशोधन गरेको हो।

यस निर्णयसँगै आगामी एक साताभित्र सञ्चालन हुने आयोगका  लिखित परीक्षा कार्यक्रम प्रभावित भएका छन्। आयोगले संशोधित परीक्षा तालिका सार्वजनिक गरिसकेको छ र सबै परीक्षार्थीलाई नयाँ तालिका अनुसार तयारी गर्न आग्रह गरेको छ।

लोकसेवा आयोगको यो निर्णयले देशभरका हजारौं परीक्षार्थीलाई राहत दिएको छ। पछिल्ला केही दिनदेखि तराईका विभिन्न जिल्लामा विकसित असहज सुरक्षा अवस्थाका कारण परीक्षा केन्द्रसम्म पुग्न नसकिने भन्दै परीक्षार्थीहरूले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट आयोगसँग परीक्षा सार्न माग गर्दै आएका थिए। आयोगले अन्ततः उनीहरूको मागलाई सम्बोधन गर्दै खरिदार वा सो सरहको लिखित परीक्षा  एक सातापछि सञ्चालन गर्ने निर्णय गरेको हो।

२०८३ श्रावण १५, शुक्रबार १६:१६ प्रकाशित
ट्रेन्डिङ समाचार