सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री बालेन

सुनसरी–सिराहा घटनाप्रति प्रधानमन्त्री शाह गम्भीर, निष्पक्ष छानबिनको प्रतिबद्धता


 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन्।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइएको र घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको जानकारी दिए। दोषीमाथि कडा कानुनी कारबाही गरिने उनले बताए।

प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको, राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णय गरिएको र सर्वदलीय संवादमार्फत अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए।

उनले सामाजिक सञ्जालमार्फत फैलाइने अफवाह र घृणाजन्य सामग्रीमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचनामात्र पालना गर्न अपिल गरे। कुनै एक घटनालाई लिएर सिंगो समुदायलाई दोषी ठहर गर्ने वा प्रतिशोध फैलाउने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

सरकारले सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र शान्ति सुरक्षामा असर पार्ने गतिविधिमाथि कडा कदम चाल्ने प्रधानमन्त्री शाहले चेतावनी दिए।

२०८३ श्रावण १४, बिहीबार २०:५१ प्रकाशित
ट्रेन्डिङ समाचार