बञ्चरेडाँडाका समस्या समाधान गर्न सञ्चारमन्त्री तिमिल्सिनाको पहल


काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री तथा नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्नुभएको छ।

छलफलमा काठमाडौँ महानगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग र ककनी गाउँपालिकाका प्रतिनिधिको सहभागिता रहेको थियो। मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनमा नियमित अनुगमन, स्थानीयका गुनासोको तत्काल सुनुवाइ, बञ्चरेडाँडा पुग्ने सडकको शीघ्र निर्माण तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभयो।

बैठकमा स्थानीयवासीले सडकको दयनीय अवस्था, दुर्गन्ध, फोहोर ढुवानीमा लापरवाही तथा व्यवस्थापनका कमजोरीबारे गुनासो गरेका थिए। हाल बञ्चरेडाँडामा २१ स्थानीय तहबाट दैनिक करिब २०० ट्रक फोहोर विसर्जन हुँदै आएको छ। छलफलले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालेको छ।

२०८३ श्रावण १३, बुधबार १९:५४ प्रकाशित
ट्रेन्डिङ समाचार