काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभरका चिकित्सकहरूले सञ्चालन गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन्। सहमतिसँगै अस्पतालहरूमा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने भएको छ।
स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको उच्चस्तरीय छलफलपछि सरकार र नेपाल चिकित्सक संघबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी तथा नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी थिए।
सहमतिअनुसार सरकारले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका यथाशीघ्र तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाहीलाई थप प्रभावकारी बनाउने तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ।
यस्तै, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न स्पष्ट कार्ययोजना तयार गरिने, त्यसका लागि नेपाल चिकित्सक संघसँगको सहकार्यमा संयुक्त कार्यदल गठन गरिने तथा कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गर्ने व्यवस्था पनि सहमतिमा समेटिएको छ।
सहमतिपछि नेपाल चिकित्सक संघले देशभर सञ्चालन गर्दै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। संघले नियमित रूपमा स्वास्थ्य सेवा सञ्चालन गर्दै बिरामीलाई अवरोधविनै सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सरकार र चिकित्सक संघबीच भएको यो सहमतिसँगै पछिल्ला दिनमा स्वास्थ्य सेवा क्षेत्रमा देखिएको तनाव अन्त्य हुने तथा अस्पतालको सेवा प्रणाली पुनः सहज हुने अपेक्षा गरिएको छ।

