काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्न सरकार नीतिगत, कानुनी तथा व्यावहारिक सुधारमा केन्द्रित रहेको बताउनुभएको छ।
मन्त्रालयमा एनआरएनएका पदाधिकारीसँग भएको भेटमा उहाँले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर र डिजिटल पूर्वाधारमा लगानीका लागि नेपाल तयार रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
भेटमा एनआरएनएले सन् २०२७ मा काठमाडौंमा हुने ‘एनआरएनए ग्लोबल नलेज कन्भेन्सन–२०२७’ को तयारीबारे जानकारी गराउँदै डिजिटल रूपान्तरण, सुशासन र सूचना प्रविधि क्षेत्रमा सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। साथै, गैरआवासीय नेपाली नागरिकता तथा सम्बन्धित कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।

