नेप्से सीईओका लागि आवेदन खुल्यो


काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरिएको छ। निवर्तमान सीईओ चूडामणि चापागाईंले राजीनामा दिएपछि रिक्त रहेको पदमा नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले आवेदन आह्वान गरेको हो।

खुला प्रतिस्पर्धाबाट सीईओ छनोट गरिने भएकाले योग्य नेपाली नागरिकले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।

सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहको अनुभवसहित कुल १५ वर्ष कार्य अनुभव आवश्यक पर्नेछ।

आवेदकको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनसँगै नेप्सेको सीईओ पदका लागि व्यावसायिक कार्ययोजना तीन प्रति खामबन्दी गरी पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

२०८३ श्रावण १२, मंगलवार ११:२८ प्रकाशित
ट्रेन्डिङ समाचार