काठमाडौं । सरकारले निजामती सेवाको दरबन्दी कटौती गर्दै लोकसेवा आयोगमार्फत हुने पदपूर्तिलाई समेत संकुचन गर्न खोजेको आरोप लगाउँदै लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। सोमबार सयौं विद्यार्थी माइतीघर मण्डलामा भेला भएर सरकारविरुद्ध प्रदर्शन गर्दै दरबन्दी कटौती र लोकसेवा आयोगको अधिकारमाथिको हस्तक्षेप तत्काल रोक्न माग गरेका हुन्।
लोकसेवाको तयारीमा रहेका हजारौं युवाको भविष्य अन्योलमा पार्ने गरी सरकारले कर्मचारी दरबन्दी धमाधम कटौती गर्न थालेको, साथै लोकसेवा आयोगको नियमित विज्ञापन तथा परीक्षा प्रक्रिया पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिमा निर्भर बनाउन खोजिएको भन्दै उनीहरूले त्यसको कडा विरोध गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले ‘पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ’, ‘लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर’, ‘पदपूर्ति रोक्न पाइँदैन’, ‘लोकसेवाको अधिकार खोस्न पाइँदैन’, ‘स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने ?’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
आन्दोलनरत विद्यार्थीहरूले मुख्य सचिवको अध्यक्षतामा साउन ४ गते बसेको सचिवस्तरीय बैठकको निर्णयप्रति पनि आपत्ति जनाएका छन्। उनीहरूले उक्त निर्णयको बुँदा नम्बर ११ खारेज गर्न, करार सेवामा कार्यरत कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेका अधिकतम १० प्रतिशतलाई मात्रै स्पष्ट, वस्तुगत र पारदर्शी मापदण्डका आधारमा व्यवस्थापन गरी बाँकी ९० प्रतिशत पदमा लोकसेवा आयोगमार्फत खुला, निष्पक्ष र प्रतिस्पर्धात्मक रूपमा स्थायी पदपूर्ति गर्न माग गरेका छन्। साथै, लोकसेवा आयोगको परीक्षाका लागि विद्यमान उमेरहद यथावत् कायम राख्नुपर्ने उनीहरूको माग छ।
विद्यार्थीहरूको भनाइमा सरकारले एकातिर स्थायी दरबन्दी घटाएर लोकसेवाका अवसर साँघुरो बनाइरहेको छ भने अर्कोतर्फ मन्त्रीका स्वकीय सचिव, सल्लाहकार र सचिवालय विस्तार गरेर राज्यको प्रशासनिक संरचनालाई राजनीतिक भागबन्डाको माध्यम बनाइरहेको छ।
उनीहरूले विगतका वर्षझैं पर्याप्त संख्यामा खुला प्रतिस्पर्धाका विज्ञापन प्रकाशित गर्न, लोकसेवा आयोगलाई स्वतन्त्र रूपमा आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न दिन तथा लाखौं युवाको भविष्यसँग खेलवाड नगर्न सरकारलाई चेतावनी दिएका छन्।
प्रदर्शनकारीहरूले सरकार समयमै नसच्चिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

