काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ स्वीकृत गरेको छ।
त्यस्तै, विपद्को समयमा खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको छ। यसबाट उद्धार कार्यमा संलग्न कर्मचारीको मनोबल बढाउने सरकारको उद्देश्य रहेको जनाइएको छ।
बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरिएको छ। उनलाई महाप्रबन्धकको समेत जिम्मेवारीसहित कार्यकारी अध्यक्ष बनाइएको प्रवक्ता पोखरेलले जानकारी दिए।
मिटरब्याज (अनुचित लेनदेन) पीडितहरूको समस्या समाधानका लागि यसअघि गठन भएका आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।



