काठमाडौंसहित देशभर निरन्तर वर्षा, यी क्षेत्रमा आज भारी वर्षाको सम्भावना


काठमाडौं ।काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश भूभागमा वर्षा जारी रहने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। साथै, मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत अवस्थाभन्दा उत्तरतर्फ सर्दै नेपालको तराई भूभाग नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो।

आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ।

कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, साथै कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

विभागका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कोसी, बागमती र गण्डकीका तराई क्षेत्र र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहनेछ।

त्यसैगरी, मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थान, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

विभागले विशेषगरी रातिको समयमा कोसी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। सम्भावित भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा जलसतह बढ्ने र शहरी क्षेत्रमा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार