काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै आम्दानी गर्ने संस्करण बन्ने भएको छ ।
फिफाको अनुमानअनुसार २०२३–२६ को व्यावसायिक चक्रमा कुल आम्दानी करिब १३ अर्ब डलर पुग्नेछ । यसमध्ये झन्डै ८.९ अर्ब डलर प्रत्यक्ष रूपमा २०२६ विश्वकपबाट आउने अपेक्षा गरिएको छ । यो अघिल्लो कतार विश्वकप चक्रको ७.५७ अर्ब डलर आम्दानीभन्दा करिब ७२ प्रतिशत बढी हो ।
फिफाको मुख्य आम्दानी स्रोत प्रसारण अधिकार रहनेछ, जसबाट करिब ४ अर्ब डलर आम्दानी हुने अनुमान छ । प्रायोजन, टिकट बिक्री र आतिथ्य सेवाबाट पनि रेकर्ड आम्दानी हुने अपेक्षा गरिएको छ ।
यसपटक विश्वकपमा सहभागी टोलीलाई वितरण गरिने पुरस्कार रकम पनि बढाइएको छ । प्रतियोगिताको कुल पुरस्कार रकम करिब ८७.१ करोड डलर पुग्नेछ, जुन कतार विश्वकप २०२२ को तुलनामा झन्डै दोब्बर हो ।
फिफाले ठूलो आम्दानी गरे पनि आयोजना खर्चको ठूलो हिस्सा भने आयोजक देशका सरकार र शहरहरूले बेहोर्नुपर्नेछ । सुरक्षा, यातायात, पूर्वाधार र सार्वजनिक सेवामा अर्बौं डलर खर्च हुने अनुमान गरिएको छ ।
विश्वकपले फिफाको आम्दानीसँगै अमेरिका, क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । प्रतियोगिताले ८० अर्ब डलरभन्दा बढी आर्थिक गतिविधि सिर्जना गर्ने र लाखौं दर्शक आकर्षित गर्ने अनुमान छ ।




