मौसमले रोक्यो हेली उद्धार, सुत्केरीलाई पैदलै अस्पताल पठाइयो


काठमाडौं ।  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ साल्धारा स्वास्थ्य चौकीमा सुत्केरी बेथाका कारण भर्ना भएकी सानीमाया लोप्चनलाई खराब मौसमका कारण हेली एम्बुलेन्सबाट उद्धार गर्न नसकेपछि पैदलमार्गबाट अस्पतालतर्फ पठाइएको छ।

स्वास्थ्यकर्मीको जाँचका क्रममा गर्भमा रहेको शिशु उल्टो अवस्थामा रहेको र सालनाल अगाडि निस्किएको देखिएपछि तत्काल शल्यक्रिया आवश्यक भएको भन्दै उनलाई काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा रेफर गरिएको थियो।

हेली एम्बुलेन्सका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयले पहल गरे पनि लगातारको प्रतिकूल मौसमका कारण हेलिकप्टर उड्न नसकेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए।

हेली उद्धार सम्भव नभएपछि आमा र गर्भस्थ शिशुको ज्यान जोगाउन उनलाई स्वास्थ्यकर्मी र स्थानीयको सहयोगमा पैदलमार्ग हुँदै अस्पतालतर्फ लगिएको हो। मौसममा सुधार आएपछि थप उद्धार तथा उपचार व्यवस्थापनका लागि समन्वय जारी रहेको गाउँपालिकाले जनाएको छ।

२०८३ असार २८, आईतवार ११:२८ प्रकाशित
ट्रेन्डिङ समाचार