नयाँ मुख्य सचिव कार्कीको पदबहाली भोलि , अर्याललाई गरियो विदाई

कार्कीको पदबहालीमा कुनै औपचारिक कार्यक्रम नहुने, सिधै काम थालेर बहाली हुने


काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीले भोलि शुक्रबारदेखि औपचारिक रूपमा मुख्य सचिवको जिम्मेवारी सम्हाल्दै छन्। बुधबार मन्त्रिपरिषद्बाट नियुक्त भएका कार्कीले कुनै विशेष औपचारिक समारोहबिना सिधै कार्यालय पुगेर कार्यभार ग्रहण गर्ने कार्यक्रम तय भएको मुख्य सचिवको सचिवालयले जनाएको छ।

नयाँ मुख्य सचिवको आगमनसँगै सिंहदरबारमा प्रशासनिक नेतृत्वको नयाँ अध्याय सुरु हुँदैछ। सरकारले वरिष्ठताको परम्परा तोड्दै कार्कीलाई मुख्य सचिव नियुक्त गरेपछि प्रशासनिक वृत्तमा उनको नेतृत्व, कार्यशैली र सुधारका प्राथमिकताप्रति विशेष चासो बढेको छ।

उता, ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका निवर्तमान मुख्य सचिव सुमनराज अर्याललाई बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा बिदाइ गरिएको छ।

बिदाइ कार्यक्रममा नवनियुक्त मुख्य सचिव कार्कीसहित प्रधानमन्त्री कार्यालयका सचिव, उच्च अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। त्यस अवसरमा कार्कीले अर्यालले निजामती प्रशासनको विकास, संस्थागत सुदृढीकरण र सेवा सुधारका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनको आगामी जीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले पनि अर्यालको कार्यकालको योगदानको चर्चा गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा भावुक मन्तव्य राख्दै अर्यालले आफूले सधैं इमान्दारीपूर्वक राष्ट्र र प्रशासनको हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे। उनले निजामती सेवाको संस्थागत मर्यादा जोगाउने प्रयास गरेको स्मरण गर्दै भने, “मैले निजामती सेवाको सास कमजोर हुन दिएको छैन।”

अर्यालको बिदाइसँगै मुख्य सचिवको जिम्मेवारी अब कार्कीको काँधमा आएको छ। प्रशासनिक सुधार, कर्मचारी मनोबल, सुशासनको प्रभावकारी कार्यान्वयन तथा सरकारको नीति कार्यान्वयनलाई थप गतिशील बनाउने अपेक्षा उनीमाथि केन्द्रित भएको छ।

शुक्रबारदेखि नियमित रूपमा कार्यालय सम्हाल्ने कार्कीको पहिलो दिनका निर्णय र कार्यशैलीप्रति अहिले सम्पूर्ण निजामती प्रशासनको ध्यान केन्द्रित भएको छ।

२०८३ असार २५, बिहीबार २०:५३ प्रकाशित
ट्रेन्डिङ समाचार