विश्वकप २०२६ मा युरोपको दबदबा, अन्तिम ८ मा ६ टोली


काठमाडौं । विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा हुँदा युरोपियन टोलीहरूको स्पष्ट वर्चस्व देखिएको छ। ४८ राष्ट्र सहभागी प्रतियोगितामा समूह चरणदेखि नकआउट चरणसम्मको यात्रा पार गर्दै अन्तिम ८ मा पुगेका ८ टोलीमध्ये ६ टोली युरोपका छन्।

युरोपबाट फ्रान्स, इंग्ल्यान्ड, स्पेन, बेल्जियम, नर्वे र स्विट्जरल्यान्ड क्वाटरफाइनल पुगेका छन्। दक्षिण अमेरिकाबाट साविक विजेता अर्जेन्टिना र अफ्रिकाबाट मोरक्कोले मात्र युरोपियन दबदबाबीच आफ्नो स्थान बनाउन सफल भएका छन्।

समूह चरणमा एसियाली र अफ्रिकी टोलीहरूले प्रभावशाली प्रदर्शन गर्दै आशा जगाए पनि नकआउट चरणमा युरोपियन टोलीहरू हाबी भएका हुन्। आयोजक अमेरिका, मेक्सिको र क्यानडासहित दक्षिण अमेरिकाका अन्य टोलीहरू पनि अन्तिम चरणमा पुग्न सकेनन्।

क्वाटरफाइनलमा दुई खेल पूर्ण रूपमा युरोपियन टोलीबीच हुनेछन्। स्पेनले बेल्जियमसँग र नर्वेले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै फ्रान्सले मोरक्को तथा स्विट्जरल्यान्डले अर्जेन्टिनाको सामना गर्नेछन्।

फ्रान्स पछिल्लो तीन दशकमा विश्वकपको सबैभन्दा सफल टोलीमध्ये एक रहँदै आएको छ। उसले १९९८ मा पहिलो पटक उपाधि जितेको थियो भने २०१८ मा पुनः च्याम्पियन बनेको थियो। अर्जेन्टिना साविक विजेताको रूपमा उपाधि रक्षा गर्ने लक्ष्यमा छ भने स्पेन र इंग्ल्यान्ड पनि बलिया दाबेदारका रूपमा रहेका छन्।

नर्वे पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुगेको हो भने बेल्जियम ८ वर्षपछि अन्तिम ८ मा फर्किएको छ। अब बाँकी ८ खेलपछि विश्वकप २०२६ को नयाँ विजेता तय हुनेछ।

२०८३ असार २५, बिहीबार १५:२५ प्रकाशित
ट्रेन्डिङ समाचार