धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा आयोजित लागुऔषधविरुद्धको कार्यक्रममा दिएको अभिव्यक्तिपछि इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली बोलाइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार उनलाई काउन्सिलिङका लागि बोलाइएको भए पनि सार्वजनिक भएको भिडियोमा व्यक्त अभिव्यक्तिबारे समेत सोधपुछ गरिनेछ।
कार्यक्रममा डीएसपी चौधरीले नेपाल प्रहरी कानुनअनुसार सञ्चालन हुने संस्था भएको भन्दै राजनीतिक प्रभावबाट स्वतन्त्र रहेको बताएका थिए। उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसबारे थप बुझ्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।