काठमाडौँ ।
बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाका अनुसार सुरुङभित्रका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् भने आकस्मिक उद्धार र सवारी व्यवस्थापनसम्बन्धी परीक्षण भइरहेको छ।
कुल २,६८८ मिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डको ट्राफिक चाप घट्ने र यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ। सुरुङमार्ग बाहिरको पहिरो नियन्त्रणको काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नगद, क्यूआर कोड तथा स्टिकरमार्फत शुल्क तिर्न सकिने व्यवस्था मिलाइएको छ। दुईपाङ्ग्रे सवारीसाधनलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन।
दैनिक करिब आठ हजार सवारीसाधन आवतजावत गर्ने यस मार्गमा करिब ६० प्रतिशत सवारीले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।

