लोकसेवा आयोगको ७६औँ स्थापना दिवस : सप्ताहव्यापी रचनात्मक कार्यक्रमसहित भव्य तयारी

असार १ गते विशेष कार्यक्रम आयोजना, भोलि प्रभातफेरि


काठमाडौं ।नेपालमा योग्यता, निष्पक्षता र स्वच्छ प्रतिस्पर्धाको विश्वसनीय संस्थाका रूपमा स्थापित लोक सेवा आयोग ले आफ्नो ७६औँ स्थापना दिवसका अवसरमा सप्ताहव्यापी रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ।

वि.सं. २००८ साल असार १ गते ‘नेपाल पब्लिक सर्भिस कमिशन’का रूपमा स्थापना भएको आयोगले हरेक वर्ष असार १ गते विशेष कार्यक्रम आयोजना गर्दै स्थापना दिवस मनाउँदै आएको छ। गत वर्ष  हीरक  जयन्ती सम्पन्न गरेको आयोगले यस वर्षलाई  हीरक जयन्ती   समापन वर्षकारूपमा मनाइरहेको जनाएको छ।

आयोगका अनुसार आगामी असार १ गते आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल को प्रमुख आतिथ्यता रहनेछ। कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ। विशेष समारोह आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजना हुनेछ।

स्थापना दिवसको पूर्वसन्ध्यामा आइतबार बिहान काठमाडौंमा प्रभातफेरि कार्यक्रमसमेत आयोजना गरिएको आयोगले जनाएको छ। प्रभातफेरि कमलपोखरीबाट सुरु भई डिल्लीबजार, अनामनगर, सिंहदरबार परिक्रमा गर्दै पुतलीसडक हुँदै पुनः कमलपोखरी  पुगेर समापन हुने कार्यक्रम तय गरिएको छ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोगले जेठ २५ र २६ गते ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरिसकेको छ। त्यस्तै, जेठ २७ गते आयोग परिसरमा विशेषज्ञ चिकित्सकसहितको टोलीबाट आँखा शिविर सञ्चालन गरिएको थियो। सोही दिन अन्तर–संवैधानिक निकायस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।

यसैबीच, जेठ २९ गते रक्तदान कार्यक्रम सम्पन्न गरिएको आयोगले जनाएको छ। आयोगले स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी स्वास्थ्य, खेलकुद, जनचेतना र संस्थागत सहकार्यसँग जोडेर मनाउन थालेपछि कार्यक्रमले थप रचनात्मक स्वरूप पाएको टिप्पणी गरिएको छ।

२०८३ जेष्ठ ३०, शनिबार १६:५५ प्रकाशित
ट्रेन्डिङ समाचार