काठमाडौँ । सरकारले मन्त्रालयहरूको पुनर्संरचनापछि ढेड दर्जन बढि सचिवको सरुवा गरेको छ। गत शुक्रबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय, निकाय तथा प्रदेशमा सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरुवा सूचीअनुसार गोविन्द शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, चन्द्रकला पौडेल उपराष्ट्रपतिको कार्यालयमा तथा प्रमिलादेवी शाक्य बज्राचार्य विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पठाइएका छन्। ऊर्जा मन्त्रालयका सचिव चिरन्जिवी चटौत नेपाल ट्रस्टमा र राजश्व सचिव भूपाल बराल गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा भएका छन्।
उपराष्ट्रपति कार्यालयका सचिव डा. कृष्णहरि पुस्कर, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्य तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मा, सार्वजनिक खरिद अनुगमन कार्यालयका हरि मैनाली, तथा तत्कालीन युवा तथा खेलकुद मन्त्रलायका सचिव लोकनाथ पौडेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्।
सरकारले कार्यसञ्चालन नियमावलीमार्फत मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि गाभिएका मन्त्रालयका सचिवहरूको सरुवा गरिएको हो। नाम परिवर्तन नभएका मन्त्रालयका सचिवहरू भने यथावत् पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

