ध्वस्त भएको भवन परिसरमै पाल टाँगेर इजलास शुरु


काठमाडौं । सर्वोच्च अदालतले आगजनीमा ध्वस्त भएको भवन परिसरमै पाल टाँगेर इजलास शुरु गरेको छ । भौतिक संरचना जलेर इजलास राख्ने ठाउँसम्म नभएको स्थितिमा सर्वोच्चले पालबाटै सेवा शुरु गरेको हो ।

सर्वोच्च अदालतको परिसरमा जलेका गाडी, आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल भएकै छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्काे तर्फ कानून व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेलाई बन्दी प्रत्यक्षीकरणको मुद्धामा सुनुवाई हुनेछ ।

आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र कुमार रेग्मीको इजलासमा दुई वटा बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भयो । अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । सर्वोच्च अदालतमा चालू अवस्थामा झन्डै २६ हजार मुद्दा रहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

२०८२ आश्विन २, बिहीबार १९:४८ प्रकाशित
ट्रेन्डिङ समाचार