काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आफ्नो कार्यकालको पहिलो छिमेकी मुलुक भ्रमणका रूपमा आज भारतको राजकीय भ्रमणमा जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन्।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक भारत भ्रमणमा जान लागेका शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा, आर्थिक सहकार्य र कूटनीतिक प्राथमिकताका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री डा. एस जयशङ्करसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। विशेषगरी सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने प्रतिनिधिमण्डलस्तरीय वार्तालाई भ्रमणको मुख्य आकर्षणका रूपमा लिइएको छ।
दुई देशका प्रधानमन्त्रीबीच हुने वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुनेछ। नेपाल र भारतबीच लामो समयदेखि अघि बढाइएका परियोजनाको कार्यान्वयन, नयाँ सहकार्यका सम्भावना र आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयले पनि प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
ऊर्जा र पूर्वाधार सहकार्यमा विशेष जोड
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ।
नेपालको जलविद्युत् उत्पादन, विद्युत् व्यापार, ऊर्जा पूर्वाधार र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका दृष्टिले यी विषय महत्वपूर्ण मानिएका छन्। नेपालले आफ्नो जलविद्युत् सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य राखिरहेका बेला भारतसँगको ऊर्जा सहकार्यलाई थप व्यवस्थित र परिणाममुखी बनाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, व्यापार तथा पारवहनमा देखिएका समस्या समाधान, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच, भारतीय लगानी अभिवृद्धि र पूर्वाधार विकासका विषय पनि वार्ताका महत्वपूर्ण एजेन्डा हुनेछन्।
शिक्षादेखि विपद् व्यवस्थापनसम्म समझदारी
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तयारी गरिएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्र समझदारीका प्राथमिकतामा छन्। यी क्षेत्रमा हुने सहकार्यले दुवै देशका प्राथमिकता प्राप्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भारतीय लगानीकर्तालाई प्रधानमन्त्री शाहले सम्बोधन गर्ने
प्रधानमन्त्री शाहको भारत भ्रमण आर्थिक कूटनीतिका दृष्टिले पनि महत्वपूर्ण हुने देखिएको छ। भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना हुनेछ।
उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी तथा लगानीकर्ता समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालमा लगानीका सम्भावना, सरकारले अवलम्बन गरेका नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माणका प्रयास तथा उपलब्ध अवसरबारे जानकारी गराइनेछ।
भारतीय व्यवसायीका चासो र सरोकार सुन्ने तथा नेपालमा थप लगानी भित्र्याउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि छलफल हुनेछ। यसले नेपाली र भारतीय निजी क्षेत्रबीच सहकार्यको नयाँ आधार तयार पार्ने अपेक्षा गरिएको छ।
यस्तो छ प्रधानमन्त्री शाहको भ्रमण तालिका
प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नयाँ दिल्लीका लागि प्रस्थान गर्नेछन्। उनी अपराह्न ३ः१५ बजे दिल्ली अवतरण गर्ने कार्यक्रम छ। त्यसपछि साँझ ६ बजे होटल ताजमा भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
सोमबारको कार्यक्रम भने उच्चस्तरीय कूटनीतिक भेटघाटमा केन्द्रित हुनेछ।
- बिहान १०ः०० बजे : राष्ट्रपति भवनमा औपचारिक सम्मान ग्रहण।
- बिहान १०ः४० बजे : राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण।
- बिहान ११ः०० बजे : हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता।
- मध्याह्न १२ः२५ बजे : दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन।
- अपराह्न ३ः१५ बजे : राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन्।
प्रधानमन्त्री शाह भ्रमण सम्पन्न गरी सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई औपचारिक भेटघाट र समझदारीपत्र आदानप्रदानमा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित, आर्थिक समृद्धि, सार्वभौमिकता र पारस्परिक सम्मानमा आधारित सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने अपेक्षा गरिएको छ। भ्रमणबाट हुने सहमति र समझदारी व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्ने विषयले नै यसको वास्तविक उपलब्धि मापन गर्नेछ।




प्रतिक्रिया