ADVERTISEMENT

देउवाको आक्रोश : ‘जेनजीले हामीलाई बचाए, कांग्रेस सिध्याउने ठूलो षड्यन्त्र थियो’

‘म र आरजुलाई मार्न खोजिएको थियो, सेनाको क्याम्पमा उपचार गरेर बाँच्यौं’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी डा. आरजु राणा देउवामाथि ज्यानै लिने गरी आक्रमण भएको दाबी गर्दै उक्त घटनामा नेपाली कांग्रेसविरुद्ध ठूलो षड्यन्त्र भएको आरोप लगाएका छन् ।

आन्दोलनका क्रममा आफूहरूलाई जेनजी युवाहरूले नै बचाएको उल्लेख गर्दै देउवाले आफू र पत्नीको ज्यान जोगिनुमा उनीहरूको भूमिका रहेको बताएका हुन् ।

शनिबार देउवा पक्षीय नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा आफूहरूले भोगेको घटनाबारे सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका हुन् ।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्याण्ड गर्न दिएनन् । घर जाने बाटोमा सारा मान्छे बसे ।पछि सेनाले गाडी पठाएर सेनाको क्याम्पमा लग्यो । त्यहीँ मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’

उनले आफूहरूलाई जेनजी युवाहरूले बचाएको दाबी गर्दै त्यसको प्रमाण तस्बिरहरूमा समेत देखिने बताए ।

तर, जेनजी आन्दोलनको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले समेत ढुंगामुढा गरेको उल्लेख गर्दै उनले आन्दोलनका क्रममा भएका घटनाहरू सामान्य नभई योजनाबद्ध षड्यन्त्रको परिणाम भएको आशंका व्यक्त गरे ।

‘त्यसमा धेरै ठूलो षड्यन्त्र थियो,’ देउवाले भने ।

देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र आफ्नी पत्नी आरजु राणा मन्त्री रहेको अवस्थालाई स्मरण गर्दै कांग्रेसका नेताहरूको घर तथा पार्टी संरचनामाथि भएको आक्रमणलाई प्रश्नको घेरामा राखे ।

‘ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन्, गृहमन्त्री रमेश लेखक थिए । भट्टराई निवास किन हानेको ?’ उनले प्रश्न गरे ।

उनले बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घरसम्म आक्रमण भएको र देशभर नेपाली कांग्रेसका पार्टी कार्यालयहरूलाई निशाना बनाइएको स्मरण गराए ।

देउवाले यी घटनाहरूलाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने जिकिर गरे ।

‘देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षड्यन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ उनले भने ।

जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरू, राजनीतिक दलका नेता तथा उनीहरूका निवासमाथिका आक्रमण र त्यसको पृष्ठभूमिबारे विभिन्न प्रश्न उठिरहेका बेला देउवाको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा थप बहस सिर्जना गर्ने देखिन्छ ।

उनको अभिव्यक्तिले आन्दोलनका क्रममा आफूहरूमाथि भएको आक्रमणलाई व्यक्तिगत घटनाका रूपमा मात्र नभई नेपाली कांग्रेसलाई नै लक्षित गरिएको योजनाबद्ध गतिविधिका रूपमा व्याख्या गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार