काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, झोलुङ्गे पुल, पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार विभिन्न बस्तीका घरहरू बगाउनुका साथै सडकसमेत अवरुद्ध भएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याकचेत–सिर्दिबास र धार्चे गाउँपालिका–५ को माछीखोला–केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल पनि बगाएको छ।
चुमनुब्री–३, सिर्दिबासमा एक घर बगाएको र अर्को घरमा बाढी पसेको छ। धार्चे–५, माछीखोलाको तल्लो बस्तीमा ५ देखि ७ घर र सोही संख्यामा टहरामा बाढी पसेको छ भने धार्चे–३, सल्लेरीका २० देखि २२ घर जोखिममा परेका छन्।
बाढीले सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका ७ देखि ८ घर बगाएको छ। आरुघाट–९, नयाँपुलस्थित गोरखा–धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र आपत्कालीन प्रतिकार्यका लागि गोरखा, लमजुङ र तनहुँका द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ।







प्रतिक्रिया