काठमाडौं । निजामती प्रशासनमा एकैपटक चार सचिव पद रिक्त भएका छन्। प्रशासन सेवातर्फ एक, प्राविधिकतर्फ दुई तथा नेपाल लेखापरीक्षण र न्याय सेवातर्फ एक–एक सचिवस्तरका पद रिक्त भएका हुन्।
राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले पाँच वर्षे सचिवको कार्यकाल पूरा गरी असोज १९ गते अनिवार्य अवकाश पाएपछि प्रशासन सेवातर्फ सचिवको एक पद रिक्त भएको हो।
त्यसैगरी नेपाल इन्जिनियरिङ सेवाका सचिवद्वय सरजुकुमार वैद्य र गोपालप्रसाद सिग्देल क्रमशः असोज १६ र असोज १४ गतेदेखि सेवानिवृत्त भएपछि प्राविधिकतर्फ दुई सचिव पद रिक्त भएका छन्।
नेपाल लेखापरीक्षण सेवातर्फ उपमहालेखापरीक्षक (सचिवस्तर) बैकुण्ठबहादुर अधिकारी असोज १८ गतेदेखि सेवानिवृत्त भएपछि उक्त सेवामा पनि सचिवस्तरको पद रिक्त भएको छ। यस्तै, नेपाल न्याय सेवातर्फ नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी असोज १८ गतेदेखि सेवानिवृत्त भएपछि न्याय सेवामा पनि सचिवस्तरको पद रिक्त भएको हो।
छिट्टै बढुवा सिफारिस
रिक्त भएका सचिव पदमा पदपूर्ति गर्न अब सचिव बढुवा सिफारिस प्रक्रिया अघि बढ्ने भएको छ।
लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहने सचिव बढुवा सिफारिस समितिले रिक्त पदअनुसार क्रमशः उम्मेदवार सिफारिस गर्नेछ। समितिको सचिवालयका रूपमा रहेको भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने जनाएको छ।मन्त्रालयका अनुसार रिक्त सचिव पदमा बढुवा सिफारिसको प्रक्रिया क्रमशः अघि बढाएर पदपूर्ति गरिनेछ।




प्रतिक्रिया