काठमाडौं । यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि चर्किएको छ। हुथी समूहले साउदी राजधानी रियादस्थित तेल कम्पनी अरामकोका सुविधालाई लक्षित गरी मिसाइल र ड्रोनबाट हमला गरेको दाबी गरेको छ। त्यसपछि साउदी समर्थित यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले राजधानी सना र सादा क्षेत्रमा हुथीका सैन्य तथा रणनीतिक संरचनामाथि कारबाही गरेको जनाएको छ।
हुथी सैन्य प्रवक्ता याह्या सरीका अनुसार उक्त हमला यमनमा साउदी पक्षबाट भइरहेको सैन्य कारबाहीको जवाफ हो। हुथीले पछिल्लो २४ घण्टामा सना तथा आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा ६० वटा हवाई तथा मिसाइल हमला भएको दाबी गरेको छ।
उता, यमनी सरकारी पक्षले हुथीका महत्वपूर्ण सैन्य संरचनालाई लक्षित गरिएको र उनीहरूको सैन्य क्षमता कमजोर पार्ने कारबाही जारी रहने जनाएको छ।
अरामकोका पूर्वाधारमाथि भएको भनिएको हमलाले क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा बजारमा समेत चिन्ता बढाएको छ। साउदी अरब विश्वकै प्रमुख तेल उत्पादक तथा निर्यातकर्ता भएकाले त्यहाँका तेल पूर्वाधारमा हुने आक्रमणले आपूर्ति, तेलको मूल्य र समुद्री ढुवानीमा असर पर्न सक्ने जोखिम देखिएको छ।
यद्यपि, अरामकोका कुन संरचनामा कति क्षति भयो भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन। पछिल्लो घटनाले यमन युद्ध पुनः तीव्र बन्ने र साउदी–हुथी संघर्षको दायरा फराकिलो हुन सक्ने चिन्ता बढाएको छ।




प्रतिक्रिया