ADVERTISEMENT

समस्याग्रस्त सहकारीका सवारी साधन तत्काल बुझाउन निर्देशन


काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बबरमहलले समस्याग्रस्त घोषणा भएका सहकारी तथा तिनका नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन तत्काल बुझाउन निर्देशन दिएको छ।

समितिले सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस्तो सूचना जारी गरेको हो। सूचना अनुसार सम्बन्धित सहकारी तथा तिनले लगानी वा सञ्चालन गरेका संस्थाका नाममा रहेका सवारी साधन जहाँ जुन अवस्थामा छन्, सोही अवस्थामा समितिको कार्यालयमा बुझाउनुपर्नेछ।

तोकिएको समयमा सवारी साधन नबुझाए सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम कारबाही गर्ने समितिले चेतावनी दिएको छ। साथै सम्बन्धित व्यक्ति वा संस्थाको घरजग्गा, बैंक खाता, लकर तथा राहदानीसमेत रोक्का राखी कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट, ओरिएन्टल, तुलसी बहुमुखी, शिवशिखर बहुउद्देश्यीय, कृषि विकास बहुउद्देश्यीय, श्री लालीगुराँस बहुउद्देश्यीय, गौतमश्री बहुउद्देश्यीयलगायत समस्याग्रस्त सहकारीको नाममा रहेका सवारी साधन बुझाउन भनेको छ। आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीमा समाहित भएका विभिन्न सहकारीका सवारी साधनसमेत बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

समितिले यससम्बन्धी थप विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार