ADVERTISEMENT

काठमाडौंका विभिन्न क्षेत्रमा २६ गतेसम्म विद्युत् कटौती


काठमाडौं । काठमाडौँ उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार असोज १५ गतेदेखि २६ गतेसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ।

असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ र २० गते मुलपानी, १८ गते गर्जुधारा, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् कटौती हुनेछ। मौसम प्रतिकूल भएमा निर्धारित कटौती नगरिने प्राधिकरणले जनाएको छ।

उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले चरणबद्ध रूपमा काम गरिरहेको छ। यसअन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गर्नुका साथै अप्टिकल फाइबरसमेत बिछ्याइँदैछ।

भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडक तथा सहरी क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत्, टेलिफोन र इन्टरनेटका तार व्यवस्थापनमा समेत सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार