ADVERTISEMENT

ट्रम्पको १ लाख डलर एच–वान बी शुल्कमा अदालतको रोक


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारका लागि एच–वान बी भिसामा तोकेको १ लाख डलर शुल्क कार्यान्वयनमा अमेरिकी संघीय अदालतले रोक लगाएको छ।

क्यालिफोर्नियाको ओकल्यान्डस्थित अमेरिकी जिल्ला न्यायाधीश हेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको ठहर गर्दै मुद्दाको अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयन नगर्न आदेश दिएका हुन्।

यसअघि पनि बोस्टनस्थित एक संघीय अदालतले २० वटा राज्यले दायर गरेको छुट्टै मुद्दामा शुल्कमाथि अस्थायी रोक लगाएको थियो। एच–वान बी भिसा अमेरिकी रोजगारदातालाई विशेष क्षेत्रमा दक्ष विदेशी कामदार नियुक्त गर्न दिइने कार्यक्रम हो, जसमा प्रविधि क्षेत्रका कम्पनीहरू ठूलो मात्रामा निर्भर छन्।

ट्रम्प प्रशासनले अमेरिकी कामदारको हित संरक्षण र एच–वान बी कार्यक्रमको दुरुपयोग रोक्ने उद्देश्यले शुल्क बढाइएको दाबी गर्दै आएको छ। तर, रोजगारदाता, श्रमिक संगठन तथा गैरनाफामूलक संस्थाहरूले राष्ट्रपतिलाई एकतर्फी रूपमा यस्तो शुल्क तोक्ने अधिकार नभएको भन्दै अदालतमा चुनौती दिएका छन्।

सरकारले आगामी दिनमा उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार