संविधानले राज्य सञ्चालनको मार्ग र पद्धति दिन्छ, बुद्धि–विवेक दिँदैन : संविधान तथा प्रशासनवीद् काशीराज दाहाल

संविधान कार्यान्वयनमा राजनीतिक संस्कार र जिम्मेवार व्यवहार आवश्यक; संघीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक संघीयता कार्यान्वयनमै जटिलता


चितवन । संविधानविद् काशीराज दाहालले संविधानले राज्य सञ्चालनका लागि मार्ग र पद्धति दिए पनि त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राजनीतिक नेतृत्व, राज्यका निकाय र नागरिकमा जिम्मेवार कार्यशैली आवश्यक रहेको बताएका छन्।

संविधान दिवसका अवसरमा शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा दाहालले संविधान निर्माण गर्नु मात्रै पर्याप्त नहुने भन्दै त्यसको मर्म र भावनाअनुसार कार्यान्वयन तथा संवैधानिक संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए।

“संविधानले एउटा मार्ग दिन्छ, संविधानले एउटा पद्धति दिन्छ, संविधानले बुद्धि र विवेक दिँदैन। त्यसैले संविधानले अपेक्षा गरेका कानुनहरू अविलम्ब निर्माण भई प्रभावकारी कार्यान्वयन हुनुपर्छ,” दाहालले भने।

उनका अनुसार संविधानको स्थायित्व संविधानको अक्षरमा मात्र नभई त्यसप्रति राजनीतिक नेतृत्व, राज्यका संस्थाहरू र नागरिकको व्यवहारमा निर्भर हुन्छ। संविधानप्रति जनताको विश्वास, अपनत्व र संवैधानिक पद्धतिप्रतिको सम्मानले मात्रै संविधानलाई जीवन्त राख्ने उनको भनाइ छ।

संविधान लोकतान्त्रिक भएर मात्रै पुग्दैन

दाहालले लोकतान्त्रिक अन्तरवस्तु बोकेको संविधान कार्यान्वयन गर्ने कार्यशैली लोकतान्त्रिक हुन नसके संवैधानिक व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनी दिए।

निर्वाचित नेतृत्वमा अत्यधिक शक्ति केन्द्रित गर्ने प्रवृत्ति, राज्यका संस्थाहरूलाई कमजोर बनाउने, निर्वाचन प्रक्रियालाई प्रभावित गर्ने, विपक्षीलाई कमजोर बनाउने तथा सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रवृत्तिले संवैधानिक व्यवस्थामाथि जोखिम निम्त्याउन सक्ने उनले बताए।

“संविधान बन्नु मात्रै पर्याप्त हुँदोरहेनछ। संविधानलाई जीवन्त राख्न त्यसको मर्म र भावनाअनुसारको राजनीतिक संस्कार र व्यवहार आवश्यक हुन्छ,” दाहालले भने।

संघीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक संघीयता अप्ठ्यारोमा

संविधान कार्यान्वयनको अवस्थामाथि चर्चा गर्दै दाहालले संविधानले अपेक्षा गरेका कतिपय महत्वपूर्ण कानुन अझै निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

विशेषगरी संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रशासनिक संघीयता कार्यान्वयनमा जटिलता देखिएको उनले बताए। विद्यालय शिक्षालाई व्यवस्थित गर्ने आवश्यक कानुन निर्माणमा समेत ढिलाइ भएको उनको भनाइ थियो।

संविधान जारी भएको लामो समय बितिसक्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण हुन नसक्नु गम्भीर विषय भएको उनले उल्लेख गरे।

उनका अनुसार संविधानको प्रवर्द्धन पनि उत्तिकै आवश्यक छ। संविधानले मुलुकमा के परिवर्तन गर्न खोजेको हो भन्ने विषय जनस्तरसम्म पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

‘विश्वका संविधानबाट सिक्नुपर्छ’

दाहालले संविधानको स्थायित्वका लागि विश्वका विभिन्न मुलुकका सकारात्मक अभ्यास र अनुभवबाट सिक्न सकिने बताए।

उनका अनुसार विश्वका विभिन्न मुलुकमा ८ सयभन्दा बढी संविधान निर्माण भएका छन् र कतिपय देशमा पटकपटक संविधान परिवर्तन भएका उदाहरण छन्।

अमेरिकाको संविधानको उदाहरण दिँदै उनले समयानुकूल संशोधन गर्दै मूल संवैधानिक पद्धतिलाई निरन्तरता दिइएको बताए।

दाहालले विश्वका विभिन्न मुलुकमा राजनीतिक दर्शन र देशको परिवेशअनुसार फरक–फरक संवैधानिक अभ्यास रहेको पनि उल्लेख गरे। उदार लोकतान्त्रिक, सामाजिक लोकतान्त्रिक, साम्यवादी, संसदीय सर्वोच्चतामा आधारित तथा उपनिवेशबाट स्वतन्त्र भएका र द्वन्द्वबाट परिवर्तन भएका मुलुकमा आ–आफ्नै संवैधानिक अभ्यास रहेको उनले बताए।

‘कर्मचारी प्रशासन राज्यको मुख्य सल्लाहकार संयन्त्र हो’

कार्यक्रममा दाहालले कर्मचारी प्रशासनलाई व्यावसायिक बनाउने तथा कर्मचारीको अनुभव र ज्ञानलाई राष्ट्रिय उत्पादकत्वसँग जोड्ने विषयमा समेत चर्चा गरे।

कर्मचारी प्रशासन बलियो नभई राज्यको प्रशासनिक संयन्त्र प्रभावकारी हुन नसक्ने उनको भनाइ थियो।

राजनीतिक नेतृत्वलाई नीति तथा कानुन निर्माणमा आवश्यक सल्लाह दिने मुख्य संयन्त्र कर्मचारी प्रशासन भएको उल्लेख गर्दै उनले कर्मचारी प्रशासनलाई अझ व्यावसायिक र सक्षम बनाउनुपर्नेमा जोड दिए।

नेपालको संवैधानिक इतिहासको चर्चा गर्दै दाहालले विसं २००४ देखि संविधान निर्माणको प्रक्रिया सुरु भएको बताए। नेपालले विभिन्न समयमा संविधान निर्माण र परिवर्तनको अभ्यास गर्दै आएको उल्लेख गर्दै उनले संविधानको स्थायित्वका लागि संविधान निर्माणसँगै संवैधानिक मर्मअनुसारको राजनीतिक संस्कार, संस्थागत अभ्यास र नागरिक अपनत्व विकास गर्नुपर्ने बताए।

उनको भनाइमा संविधान राज्य सञ्चालनको आधार हो, तर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारी राजनीतिक नेतृत्व, राज्यका संस्था र नागरिक सबैको हो।

संविधानको अक्षरले बाटो देखाउन सक्छ, तर त्यो बाटोमा राज्यलाई सही दिशामा हिँडाउने काम राजनीतिक संस्कार, संस्थागत अनुशासन र जिम्मेवार व्यवहारले गर्छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार