सागर पण्डित,काठमाडौँ ।
भदौ २२ गते देशभरका निजामती कर्मचारीका लागि आफ्नो सेवा, संगठन र पेशागत गौरव सम्झने दिन। वर्षभर जनताको सेवामा खटिने कर्मचारीबीच आत्ममूल्यांकन गर्ने, निजामती सेवालाई अझ सक्षम, व्यावसायिक र जनमुखी बनाउने बहस गर्ने र आगामी यात्राका लागि नयाँ संकल्प गर्ने दिन।तर यसपटक भदौ २२ को त्यो दिन कर्मचारीका लागि उत्सवको होइन, राष्ट्रिय शोकको दिन बनेको छ।
भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेपछि निजामती सेवा दिवसकै दिन राष्ट्रिय शोक दिवस परेको विषयलाई लिएर कर्मचारी वृत्तमा असन्तुष्टि र चित्त दुखाइ देखिएको छ।
बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि यस वर्ष निजामती सेवा दिवसका औपचारिक कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयलाई भने आमकर्मचारीले सकारात्मक रूपमा लिएका थिए।तर, निजामती सेवा दिवस कै दिन राष्ट्रिय शोक मनाउने सरकारको निर्णयले भने कर्मचारीको मन छोएको छैन। उल्टो दुखित बनाएको छ ।
‘दिवस मनाउन नपाउनु दुःख होइन, दिवसकै दिन शोक किन ?’
नेपालमा हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाइन्छ। दिवस सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य सचिवको अध्यक्षतामा निजामती सेवा दिवस मूल समारोह समिति गठन हुने गरेको छ।
यसपटक पनि मुख्य सचिवको नेतृत्वमा रहेको समितिले विभिन्न उपसमिति गठन गरी दिवसका कार्यक्रमको तयारी अघि बढाएको थियो। ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउने तयारी भइरहेका बेला भदौ १० गते भोटेकोशीमा विनाशकारी बाढी आयो।
बाढीमा ठूलो जनधनको क्षति भएपछि मुख्य सचिव नेतृत्वको मूल समारोह समितिले यस वर्षका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गर्यो। दिवसका नाममा हुने खर्चसमेत बाढीपीडितको राहतमा लगाउने निर्णयलाई कर्मचारीले निजामती सेवाको संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा लिएका थिए।
तर त्यसपछि मन्त्रिपरिषद्ले भदौ २२ गते नै राष्ट्रिय शोक मनाउने निर्णय गरेपछि भने कर्मचारीको मनमा अर्को प्रश्न जन्मिएको छ–
‘निजामती सेवा दिवस मनाउने कार्यक्रम नगर्नु एउटा कुरा हो, तर त्यही दिनलाई राष्ट्रिय शोकको दिन नै किन बनाउनुपर्यो ?’
सिंहदरबारस्थित एक अधिकारीका अनुसार, दिवसका औपचारिक कार्यक्रम नगर्ने निर्णयले कर्मचारीलाई कुनै गुनासो थिएन। तर, निजामती सेवाको संस्थागत पहिचान र गौरवसँग जोडिएको दिनलाई नै शोक दिवस मनाउने निर्णयले धेरै कर्मचारीलाई भावनात्मक रूपमा चोट पुगेको छ।
‘दिवसमा कार्यक्रम नगर्नु स्वाभाविक थियो। बाढीको विपत्तिका बेला कर्मचारीले नै यस्तो निर्णयलाई स्वागत गरेका थिए। तर भदौ २२ लाई नै राष्ट्रिय शोकको दिन बनाइँदा चाहिँ प्रश्न उठ्नु स्वाभाविक हो,’ ती अधिकारीले प्रशासनपोस्टसँग भने, ‘निजामती सेवा दिवसकै दिन शोक दिवस राख्ने निर्णयमा प्रशासनिक नेतृत्वले कम्तीमा आफ्नो धारणा राख्नुपर्ने थियो।’
‘भोटेकोशीको पीडा ठूलो हो, तर मिति रोजाइमा प्रश्न छ’
कर्मचारीहरूले भोटेकोशी बाढीका मृतकप्रति सम्मान र पीडितप्रति संवेदना नरहेको भन्ने प्रश्न नभएको स्पष्ट पार्छन्।
उनीहरूको प्रश्न शोक मनाउने निर्णयप्रति होइन, त्यसका लागि रोजिएको दिनप्रति हो।
‘भदौ १० गते घटना भयो। तत्कालै राष्ट्रिय शोक मनाउन सकिन्थ्यो। त्यसो हुन नसकेको भए पनि निजामती सेवा दिवसकै दिन पार्न आवश्यक थिएन,’ एक शाखा अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा प्रशासनपोस्टसँग भने, ‘अझै कैयौँ नागरिक बेपत्ता छन्। उद्धार र खोजीको कामसमेत जारी रहेको अवस्थामा शोक मनाउने समय र मिति छनोटमा प्रशासनिक नेतृत्वले संवेदनशीलता देखाउनुपर्थ्यो।’
उनका अनुसार भदौ २२ मा नै शोक दिवस राख्ने विषयमा मुख्य सचिवले राजनीतिक नेतृत्वसँग फरक विकल्पबारे छलफल गर्न सक्थे।
‘यसमा मुख्य सचिवले अडान लिनुपर्थ्यो। राजनीतिक नेतृत्वबाट प्रस्ताव आएको भए पनि भदौ २२ लाई नछुने गरी अर्को दिन रोज्न सकिन्छ भनेर कन्भिन्स गर्न सकिन्थ्यो,’ ती अधिकृतले भने, ‘निजामती सेवा दिवसकै दिन शोक दिवस राखिनु प्रशासनिक नेतृत्वको कमजोरी हो कि होइन, यसको जवाफ कर्मचारीले खोजिरहेका छन्।’ भदौ २३ को जेनजी दिवसकै दिन पनि शोकदिवस मनाउन सकिन्थ्यो भन्ने प्रश्न गर्दै आम कर्मचारीहरुले यस प्रकरणमा प्रशासनिक नेतृत्व नराम्ररी चुक्दै आफ्नै संगठनको गरिमामाथि गम्भीर चोट पुर्याएको दावी गरे ।
‘निजामती सेवा दिवस भनेको भोजभतेर गर्ने दिन मात्रै होइन’
कर्मचारीहरूका अनुसार निजामती सेवा दिवसका सबै कार्यक्रम स्थगित हुँदैमा दिवसको मूल भावना नै स्थगित हुनुपर्ने होइन।
निजामती सेवा दिवस कुनै औपचारिक समारोह, शुभकामना आदानप्रदान वा पुरस्कार वितरणमा मात्रै सीमित छैन। यो दिन निजामती प्रशासनको अवस्था, कर्मचारीको भूमिका, सेवा प्रवाह, सुशासन, जनउत्तरदायित्व र प्रशासन सुधारका विषयमा बहस गर्ने अवसरसमेत हो।
त्यसैले औपचारिक कार्यक्रम नगरे पनि कर्मचारीबीच दिवसको सन्दर्भमा आत्ममूल्यांकन र शुभकामना आदानप्रदान गर्न सकिने उनीहरूको भनाइ छ।
‘निजामती सेवा दिवसमा कार्यक्रम नगर्ने भनेको सेवा सुधारबारे सोच्नै नहुने भनेको होइन। बरु यो विपत्तिको समयमा कर्मचारीले आफ्नो भूमिका अझ गम्भीर रूपमा समीक्षा गर्ने अवसर हो,’ एक उच्च तहका कर्मचारीले भने।
तर, यही दिन राष्ट्रिय शोक मनाउने निर्णयले निजामती सेवाको संस्थागत पहिचानमाथि नै प्रश्न उठ्ने अवस्था आएको उनको भनाइ छ।
‘जसले यहाँसम्म ल्यायो, त्यही सेवाप्रति किन यति उदासीनता ?’
कर्मचारी वृत्तमा अहिले अर्को भावनात्मक प्रश्नसमेत उठेको छ। ‘आजका उच्च प्रशासकलाई मान, प्रतिष्ठा, जिम्मेवारी र पहिचान दिने यही निजामती सेवा हो। अनि यही सेवाको सबैभन्दा महत्वपूर्ण दिनप्रति यति धेरै उदासीनता किन ?’
कतिपय कर्मचारीको बुझाइमा प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको निर्णयलाई कार्यान्वयन गर्ने निकाय मात्रै होइन। उसले संस्थागत हित, प्रशासनिक मूल्य र कर्मचारीको मनोबलको पक्षमा आवश्यक ठाउँमा आफ्नो धारणा राख्न सक्नुपर्छ।
‘राजनीतिक नेतृत्वले प्रस्ताव गरे पनि प्रशासनिक नेतृत्वले निजामती सेवाको संस्थागत भावनालाई बुझाएर अर्को विकल्प सुझाउन सक्थ्यो,’ सिंहदरबारका अर्का अधिकारीले भने, ‘मुख्य सचिव प्रशासनको अभिभावक हो। कर्मचारीले आफ्नो आवाज त्यही नेतृत्वबाट सुनिनुपर्छ भन्ने अपेक्षा गर्छन्।’
‘निजामती प्रशासनलाई नै मृत्युतुल्य देखाउने सन्देश त होइन ?’
निजामती सेवा दिवसलाई ‘शोक दिवस’सँग जोडिएपछि कर्मचारी वृत्तमा सबैभन्दा गम्भीर रूपमा उठेको प्रश्न यही हो। ‘निजामती सेवा दिवसकै दिन शोक दिवस राखेर निजामती प्रशासनलाई नै मृत्युतुल्य देखाउन खोजिएको त होइन ?’ कर्मचारीहरू यो निर्णयले आफूहरूको मनोबलमा नकारात्मक असर पर्न सक्ने बताउँछन्।
वर्षभर आलोचना, राजनीतिक दबाब, स्रोत–साधनको अभाव र जनअपेक्षाको चापबीच काम गरिरहेका कर्मचारीका लागि निजामती सेवा दिवस आफ्नो पेशागत पहिचान र योगदानलाई सम्झने दिन हो। त्यही दिन शोकको औपचारिकता थपिँदा कर्मचारीको मनोबलमा कस्तो प्रभाव पर्ला भन्ने प्रश्नसमेत उनीहरूले उठाएका छन्।
यद्यपि, कर्मचारीहरू स्पष्ट छन्—भोटेकोशीका मृतकप्रति श्रद्धाञ्जलि र पीडित परिवारप्रति संवेदना सर्वोपरि हो।
तर, संवेदना र संस्थागत गौरवबीच सन्तुलन खोज्नु प्रशासनिक नेतृत्वको जिम्मेवारी भएको उनीहरूको तर्क छ।
कर्मचारीको अन्तिम प्रश्न : ‘प्रशासनको नेतृत्व कसको पक्षमा उभिने ?’
यसपटक निजामती सेवा दिवसमा औपचारिक कार्यक्रम नहुनु कर्मचारीका लागि ठूलो विषय होइन। बाढीपीडितका लागि कार्यक्रमको बजेट सहयोग गर्नु उनीहरूले सकारात्मक रूपमा लिएका छन्।
तर, निजामती सेवा दिवसकै दिन राष्ट्रिय शोक मनाउने निर्णयले भने प्रशासनिक नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको छ।
‘हामीलाई दिवसमा मञ्च चाहिएको होइन। तामझाम चाहिएको होइन। बजेट खर्च गरेर कार्यक्रम गर्नुपर्छ भन्ने पनि होइन,’ एक कर्मचारीले भने, ‘हामीलाई यति मात्र चाहिएको हो—निजामती सेवाको गौरव र भावनालाई प्रशासनको नेतृत्वले पनि आफ्नो गौरव र भावना ठानोस्।’
यसपटक ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाउने तय भएको निजामती सेवा दिवस औपचारिक रूपमा नमनाइए पनि कर्मचारीको मनमा भने एउटा प्रश्न गुञ्जिरहेको छ–
जुन दिन निजामती सेवाले आफ्नो गौरव, योगदान र आगामी यात्राबारे सोच्नुपर्ने हो, त्यही दिनलाई राष्ट्रिय शोकको दिन बनाउने निर्णयले आम कर्मचारी र जनतालाई आखिर कस्तो सन्देश दियो ?
र त्यो प्रश्नको जवाफ अब राजनीतिक नेतृत्वभन्दा पनि प्रशासनिक नेतृत्वसँग खोजिरहेका छन् कर्मचारीहरू।

प्रतिक्रिया