काठमाडौँ । सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज भदौ २२ गते सोमबार राष्ट्रिय शोक घोषणा गरेको छ। तर राष्ट्रिय शोकका अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन।
भदौ १० गते नेपाल–चीन सीमास्थित रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा घटनाको १३औँ दिनको पुण्यतिथिका अवसरमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो।
राष्ट्रिय शोकका क्रममा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।
गृह मन्त्रालयले राष्ट्रिय शोक मनाउने निर्णयअनुसार सबै सम्बन्धित निकायलाई झन्डा आधा झुकाउन आग्रह गरेको छ।
तर, राष्ट्रिय शोक घोषणा गरिए पनि सरकारी कार्यालय तथा सार्वजनिक सेवा बन्द हुने गरी सार्वजनिक बिदा भने दिइएको छैन। नियमित रूपमा सरकारी कार्यालय तथा सार्वजनिक सेवाहरू सञ्चालन हुनेछन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोक घोषणा गरिएको भए पनि आज सार्वजनिक बिदा नरहेको स्पष्ट पारेका छन्।
भोटेकोसी बाढीले रसुवालगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बाढीमा परी ज्यान गुमाएका तथा अझै बेपत्ता रहेकाहरूका परिवारजन शोकमा छन्। सरकारले राष्ट्रिय शोकमार्फत विपद्मा ज्यान गुमाएकाप्रति राज्यका तर्फबाट सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरेको हो।

प्रतिक्रिया