काठमाडौं । सर्वोच्च अदालतले काष्ठमण्डपमा प्रतिस्थापन गरिएका गोरखनाथ र चार गणेशका नयाँ मूर्ति नहटाउन आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुराना मूर्ति हटाएर नयाँ मूर्ति राखिएको विषयमा परेको रिट खारेज गर्दै यस्तो फैसला सुनाएको हो।
अदालतले धार्मिक आस्था र सम्पदाको ऐतिहासिक मौलिकताबीच सन्तुलन कायम गर्नुपर्ने जनाएको छ। नयाँ मूर्तिको प्राणप्रतिष्ठा भइसकेको र तत्काल हटाउँदा धार्मिक संवेदनशीलता बढ्न सक्ने भएकाले ती मूर्ति हटाउन आवश्यक नरहेको सर्वोच्चको ठहर छ।
तर, भविष्यमा सम्पदा संरक्षणका क्रममा पुराना मूर्ति वा संरचना हटाउनुअघि वैकल्पिक उपाय खोज्न अदालतले सरकारलाई निर्देशन दिएको छ। खण्डित पुराना मूर्तिलाई संग्रहालयमा सुरक्षित राख्न, नयाँ मूर्तिमा क्युआर कोडमार्फत इतिहासबारे जानकारी दिन तथा सम्पदा पुनर्निर्माणअघि ‘सम्पदा प्रभाव मूल्याङ्कन’ गर्नुपर्ने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको छ।
सर्वोच्चले सम्पदाको ३ डी डिजिटल अभिलेख तथा ‘डिजिटल ट्विन’ तयार गर्न र पुनर्निर्माण गरिएका संरचनामा कुन भाग मौलिक र कुन नयाँ हो भन्ने स्पष्ट अभिलेख राख्न पनि सरकारलाई निर्देशन दिएको छ।
अदालतले राज्य सम्पदाको मालिक नभई संरक्षक मात्र भएको भन्दै धार्मिक प्रयोगसँगै सम्पदाको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक मौलिकता जोगाउनु राज्यको दायित्व भएको स्पष्ट गरेको छ।


