बालेनले संसद् र दलको बैठक छल्दै ,बैठकमा प्रधानमन्त्री अनुपस्थित भएको विषय उठेपछि सभापति लामिछानेले छलफल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार बोलाएको संसदीय दलको छलफलमा प्रधानमन्त्री एवं संसदीय दलका नेता बालेन्द्र शाह अनुपस्थित भएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा अधिकांश मन्त्री तथा सांसद सहभागी भए पनि प्रधानमन्त्री शाह, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी भएनन्। सोही समयमा प्रधानमन्त्री शाह प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रीहरूसँग कार्यसम्पादन मूल्यांकन सम्झौताको तयारीमा व्यस्त थिए।

बैठकले संसदीय दलको विधान, २०८३ संशोधनका लागि मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८९१० मा संसदीय दलको नेताको निर्देशनबमोजिम सचेतकले सङ्घीय संसद् वा प्रदेश सभामा हुने मतदानमा पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलका सदस्यहरूलाई निर्देशन (ह्विप) जारी गर्न सक्ने प्रावधान छ ।

रास्वपाको विधानअनुसार संसदीय दलको बैठक दलका नेताले बोलाउने व्यवस्था भए पनि बुधबारको छलफल सभापति लामिछानेले बोलाएका थिए। बैठकमा यस विषयमा प्रश्न उठेपछि लामिछानेले उक्त कार्यक्रम औपचारिक बैठक नभई अनौपचारिक छलफल भएको स्पष्ट पारे। उनले आगामी बैठकमा दलका नेता शाह सहभागी हुने बताए।

प्रधानमन्त्री बनेपछि शाह पार्टीका अधिकांश बैठक, प्रशिक्षण तथा संसदीय दलका बैठकमा अनुपस्थित हुँदै आएका छन्। यसअघि पनि सभामुखको उम्मेदवार चयन तथा संसदीय समितिका उम्मेदवार टुंगो लगाउने बैठकमा उनी सहभागी भएका थिएनन्।

शाहको लगातारको अनुपस्थितिलाई लिएर रास्वपाभित्र तथा बाहिर प्रश्न उठ्दै आएको छ। पार्टीका उपनेता गणेश पराजुलीले भने विधि र प्रक्रिया सबैले पालना गर्नुपर्ने बताएका छन्। एमालेका पूर्वमुख्य सचेतक महेश बर्तौलाले भने दलको नेता संसद् र संसदीय दलको बैठकमा लगातार अनुपस्थित हुनु संसदीय प्रणालीकै उपहास भएको टिप्पणी गरेका छन्।

२०८३ भाद्र ५, शुक्रबार १०:०० प्रकाशित
ट्रेन्डिङ समाचार