इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ।
करारीय दायित्व पालना नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेपछि ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।
सूचनाअनुसार ठेक्का रद्द भएका व्यवसायीले नेपाल बैंक लिमिटेडमा रहेको तोकिएको राजस्व खातामा रकम जम्मा गरी बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ।
बाँकी रकम बुझाउनुपर्नेमा पाँचथरको बुढाथोकी निर्माण सेवा रु. २३ लाख ४ हजार ५८७, ताप्लेजुङको मावोहाङ निर्माण सेवा रु. १ करोड ८ लाख २५ हजार २ र मकवानपुरको शिव शक्ति इन्फ्रा डेभलपर्स प्रालिका दुई ठेक्काको क्रमशः रु. ४ करोड ५९ लाख ७१ हजार ५६३ र रु. ३ करोड ४२ लाख ४७ हजार ७०८ रहेका छन्।
त्यस्तै, इलामको एमडी ब्रो कन्स्ट्रक्सन, धनकुटाको शाहरपूजा जेभी र आशिवर्दिरपूजा जेभी, इलामको एबिसी निर्माण सेवा, धनुषाको केएम कन्स्ट्रक्सन, पाँचथरको टेक एण्ड सपना कन्स्ट्रक्सन प्रालि तथा धनुषाको गायत्री माँ कन्स्ट्रक्सन एण्ड समरित कन्स्ट्रक्सन जेभीले समेत सरकारी बाँकी रकम दाखिला गर्नुपर्ने कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र रकम दाखिला नगरे प्रचलित कानुनबमोजिम थप कारबाही अघि बढाइने कार्यालयले जनाएको छ।


