काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले आज धेरै समितिका बैठक एकैपटक बस्न लागेका हुन्।
अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा ‘पर्यटन विधेयक, २०८१’ का विषयमा होटल एसोसिएसन नेपाललगायत सरोकारवालासँग छलफल हुनेछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्राप्त उजुरीबारे छलफल गर्नेछ।
कृषि तथा प्राकृतिक स्रोत समितिमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था तथा रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल हुनेछ।
पूर्वाधार विकास समितिमा बागमती ब्युटिफिकेसन आयोजनाबारे तथा राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीबारे आयोगका पदाधिकारीसँग छलफल हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुनेछ। सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणबारे छलफल गर्नेछ भने विधायन व्यवस्थापन समितिले विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्नेछ।


