काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण मुलुक संकटतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ भनिएका राजनीतिक शक्तिमा शासन सञ्चालन गर्ने न्यूनतम दक्षता र अनुभवसमेत नरहेको टिप्पणी गर्नुभयो।
प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले सरकार सञ्चालन कला र अनुभवमा आधारित हुने बताउनुभयो। खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै अनुभव र प्रक्रिया नबुझेका व्यक्तिले देश चलाउन खोज्दा अपेक्षित परिणाम आउन नसक्ने उहाँको भनाइ थियो।
ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको दाबी गर्दै संविधानको रक्षा र मुलुकलाई सही दिशामा अघि बढाउन सक्षम तथा अनुभवी नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यकर्तालाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशनसमेत दिनुभयो।


