काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाले ८० प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ। यसअघि सबै प्रकारका सवारी साधन खरिदमा ६० प्रतिशतसम्म मात्रै ऋण दिन पाइन्थ्यो।
नयाँ व्यवस्थाअनुसार १ करोड रुपैयाँको विद्युतीय सार्वजनिक सवारी खरिद गर्दा खरिदकर्ताले अब २० लाख रुपैयाँ मात्रै आफ्नै लगानी गर्नुपर्नेछ, बाँकी ८० लाख रुपैयाँ ऋणबाट जुटाउन सकिनेछ। यो व्यवस्थाले सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।