काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत १३ लाख ५१ हजार १६७ व्यावसायिक प्रतिष्ठान सूचीकृत भएको जनाएको छ। यो संख्या आर्थिक गणना २०७५ मा सूचीकृत नौ लाख २३ हजार ३५६ प्रतिष्ठानको तुलनामा उल्लेख्य वृद्धि हो।
कार्यालयका अनुसार १३ लाख ४४ हजार ५०० प्रतिष्ठानले कागजी प्रश्नावलीमार्फत र छ हजार ६६७ प्रतिष्ठानले अनलाइन माध्यमबाट विवरण उपलब्ध गराएका छन्। गणनामा औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका प्रतिष्ठान समेटिएका छन्।
आर्थिक गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी तथ्याङ्क सङ्कलन गरिएको छ। कार्यालयले आगामी छ महिनाभित्र पूर्ण नतिजा सार्वजनिक गर्ने जनाएको छ। गणनाका लागि तीन हजार ९०७ गणक र ५२६ सुपरिवेक्षक परिचालन गरिएको थियो।