रातिदेखि मनसुन सक्रिय, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ ।
आइतबार देशका हिमाली र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा कोशी प्रदेशका तराई क्षेत्रमासमेत बादल लाग्ने सम्भावना रहेको विभागले जनाएको छ ।
आइतबार कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ ।
यसैगरी बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा समेत तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ ।
सोमबार पनि देशका हिमाली र पहाडी भूभागमा बदली कायम रहने तथा कोशी प्रदेशका तराई क्षेत्रमा समेत सामान्य बदली रहने पूर्वानुमान गरिएको छ ।
सो दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायमै रहने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत गर्मी बढ्न सक्ने विभागले जनाएको छ ।
विभागले वर्षाका कारण पहाडी क्षेत्रमा भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।