काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन ले जनताका मुद्दामा खरो उत्रिने र अन्यायका विरुद्ध लड्ने राजनीतिक शक्तिलाई मात्रै जनमत प्राप्त हुने बताएका छन्।
शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली जनताको मनोविज्ञान सधैं विसंगति, बेथिति र अन्यायविरुद्ध संघर्ष गर्ने शक्तिको पक्षमा रहने उल्लेख गरे। उनले पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले प्राप्त गरेको जनमतलाई त्यसको उदाहरणका रूपमा प्रस्तुत गरे।
नेता पुनले गरिबी, शोषण, विभेद तथा राष्ट्रियताका सवाल अझै कायम रहेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए। साथै, युनियन खारेज गर्ने प्रयासलाई संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको टिप्पणी गर्दै राष्ट्रियता, लोकतन्त्र र जनताको पक्षमा उभिएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले सरकार संसदलाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोपसमेत लगाए।