काठमाडौं । वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकको अवस्था नियमित रूपमा अनुगमन गर्न सबै म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ। श्रमिकहरूले सम्झौताअनुसार तलब, सुविधा र सुरक्षित आवास नपाएको तथा बाध्यतामा काम गर्नुपरेको गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो।
नयाँ व्यवस्था अनुसार म्यानपावरले आफूले पठाएका प्रत्येक श्रमिक समूहको अवस्थाबारे मासिक रूपमा कम्तीमा ५ देखि १० जनासँग सम्पर्क गरी जानकारी लिनुपर्नेछ। तलब, आवास, कार्य वातावरण र अन्य समस्या भए तत्काल सम्बोधन गर्नुपर्नेछ।
संकलित विवरण प्रत्येक तीन महिनामा विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, विदेश जानुअघि श्रमिकलाई सम्झौता, श्रम अधिकार र गुनासो प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्ने र आवश्यक परे उद्धार तथा सहयोगको जिम्मेवारी पनि म्यानपावरकै हुने विभागले जनाएको छ।
२०८३ असार ६, शनिबार ०९:१७ प्रकाशित

