गुनासा, उजुरी र सुझाव तत्काल समाधान गर्ने उद्देश्यसहित गृह मन्त्रालयद्धारा ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

टोल–फ्री १११२ सहित विभिन्न माध्यमबाट उजुरी दर्ता गर्न सकिने


काठमाडौं । नागरिकलाई  सरकारी सेवा प्रवाहसँग सम्बन्धित गुनासा, उजुरी तथा सुझावलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले  गृह मन्त्रालयले  ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा ढिलाइ, गुनासोको बेवास्ता, प्रहरी कार्यालयमा जाहेरी दर्ता नगर्ने जस्ता समस्याबाट नागरिकले भोग्नुपरेका कठिनाइलाई अब प्रत्यक्ष रूपमा केन्द्रमा ल्याएर तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको हो ।

यसैगरी, सेवाग्राहीसँग रकम माग गर्ने, आफूलाई गृह मन्त्रालय वा मन्त्रीको सचिवालयको कर्मचारी भनेर धम्की दिने, तथा सरकारी काम मिलाइदिन्छु भन्दै ठगी गर्ने जस्ता उजुरीहरू पनि अब सोही कल सेन्टरमार्फत सम्बोधन गरिने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार, नागरिकले आफ्ना गुनासा सीधै कल सेन्टरमा पठाउन सक्नेछन् र प्राप्त उजुरीहरूलाई तत्काल सम्बोधनको प्रक्रियामा लगिनेछ ।

यसका लागि मन्त्रालयले टोल–फ्री नम्बर १११२, मोबाइल/व्हाट्सएप नम्बर ९८५१३६०६०३ तथा इमेल  [email protected] मार्फत गुनासा पठाउन आग्रह गरेको छ ।

मन्त्रालयले यो प्रणालीमार्फत देशभरका नागरिकका समस्या छिटो समाधान हुने र प्रशासनिक सेवामा पारदर्शिता तथा जवाफदेहिता अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ ।

२०८३ असार ५, शुक्रबार २२:४६ प्रकाशित
ट्रेन्डिङ समाचार